Trekking in Nepal

Royal Orchid Treks & Expedition (P) Ltd.

891, Arubari, Boudha, Kathmandu, NEPAL
English Japanese

Browse Trip By

  Please Wait...

Fix Packages

Browse Pacakge

General Info...

Travel News

Testimonials

Louis Armstrong - German
Oct 20 2011 Thursday

I see the fields of green & skies of blue and I think to myself "Oh what a wonderful world" ...

Travel Travel News [Archive]


Increase Text Size Decrease Text Size Print

बादल भन्दा माथि पुगें

7 Jun 2012

 निमाछम्जी शेर्पा- सगरमाथाको बेसक्याम्प पुगेपछि मैले झन्डा, चकलेट र थप्सु (भगवानको आकृती) चढाएँ। पुजा गरेँ। यसो गर्दा सगरमाथाको देवता खुसी हुन्छ भन्छन्। हाम्रो समुहमा म सहित १८ जना थियौँ। ती मध्ये १० जना विदेशी। चैत २६ गते शनिबारको दिन काठमाडौंबाट त्यता लागेका थियौ । नयाँ वर्षको दिन बेस क्याम्प पुग्यौ।
मैले चुचुरोमा पुगेपछि लगाउने डाउनसुट, जुत्ता, हार्नेस (कम्मरपेटी), क्रमपम (जुत्ताको मुनि अड्काउन लाउने) बोके। धेरैजसो सामान बाबा (टेन्डी)को झोलामा प्याक भयो। मेरो झोलामा ८ किलो सामान थियो। सम्पुर्ण तयारी पछि हामी जेठ २ गते विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुग्ने लक्ष्य लिएर उकालो लाग्यौ।


म उत्साही थिए। केही दिनमै चुचुरो पुग्ने पक्का भएकोले ढुकढुकी बढ्न थाल्यो। तर कसरी पुग्ने हो, मेसो थिएन। पासाङ ल्हामूको जीवनी पढ्दा चढ्दै सकिन्न कि जस्तो पनि लाग्थ्यो।
एक दिन मैले बाबाआमालाई सगरमाथा चढ्ने सपना छ मेरो भनेको थिए। उहाँहरूबाट जवाफ आएको थिएन। म १२ वर्षको उमेरमा ५ हजार ५ सय मिटर उचाई रहेको कालापत्थरमा चढिसकेकी थिएँ। यसको सबै व्यवस्था बाबाले गर्नुभएको थियो। कालापत्थर चढ्न पाएपछि मेरो सपना पलायो। त्यसको धेरैपछि गत दसंैमा ६ हजार १ सय १९ मिटर उचाईको लोबुचे पिक चढ्न सफल भएँ। त्यतिखेर मलाई लाग्यो अब सगरमाथाको शिखर पुग्न सक्छु। मैले निश्चय गरे, शिखरमा पाइला राखेरै छाड्छु। नभन्दै केही दिनमै परिवारमा बाबा र म सगरमाथा चढ्ने निर्णय पारित भयो। त्यो समाचार गोप्य राख्ने कुरा पनि भयो। मेरो मन पनि अरुले थाहा नपाउन भन्ने नै थियो। मेरो लागि लाउने कपडा पाइएन। सबै ठुल्ठुला। बाबाले अमेरिकाको कम्पनीमै अर्डर दिनुपर्छ भन्नुभयो। तीन महिनापछि मात्र मेरो लागि चाहिने सामान जुटे। पहिलो दिन जेठ २ गते राति २ बजे म बाबासँगै हिउँको उकालो चढेँ। विस्तारै चिसो बढ्न थाल्यो। राति टर्च बाल्दै हिड्नुपर्ने रहेछ। ११ घन्टा हिडेपछि दिउँसो ११ बजे हाम्रो समुह 'क्याम्प टु' मा पुग्यौँ। घाम चर्को भएकोले कसैले माथि बढ्ने साहस गरेनन्। ठूला र चाक्ला ढुंगाहरू माथि टेन्ट लगाएर बस्यौँ। निकै थाकेकी थिएँ। खानेकुरा खाएर हामी आराम गर्न बस्यौ। दोस्रो दिन राति १२ बजे। झुपुझुपु निद्र लागिरहेको थियो। थोरै खाना खाएँ। डाउनसुट लगाएर बाबाको अघि लागेँ।


चश्मा लगाउदाँ बाटो देखिदैन रहेछ। हावा त्यतिकै चल्ने। आँखीभौभरी हिउँ टाँसे। गालामा चिसो हिउँले हान्थ्यो। भोलिपल्ट 'क्याम्प थ्री' पुगियो। मिरमिरे उज्यालो भएको थियो। बाबाले अक्सिजन फिट गरिदिनुभयो। अनुहार देखिदैन थ्यो। आँखामा चश्मा। नाक र मुखमा अक्सिजन मास्क, टाउकोमा टोपी। क्याम्प थ्रीबाट मानिसको लाम देखे। त्यो दिन हामी 'साउथ कोल' पुग्यौ। त्यहाँ थुप्रै टेन्ट देखियो। चिसो ठाउँमा तातोपानी खाइरहनु पर्थ्यो। चिसोमा पानी तताउन इपी ग्यास चाहिने रहेछ। त्यो दिन प्याकेटको खाना र चकलेट खायौँ।


तेस्रो दिन रातको ८ बजे। चढ्नेको लाम थियो। धेरै ढिला हिड्ने भएकाले जाम नै भयो। केही ठाउँमा हाम्रो समुहले ओभरटेक गरे। सबैलाई एउटै डर थियो, अक्सिजन सकिए फर्कदा गाह्रो हुन्छ। डोरी र जुमरको सहयताले विस्तारै माथि चढेँ। त्यो रात पनि हावा बेस्सरी चल्यो। आँखा र गला सेतै भए। त्यहीबेला धेरै मानिसहरू हरेश खाएर फर्के। रातभरि हिडेपछि बिहान 'साउथ समिट' मा पुग्यौ। त्यहीबाट चुचुरो देखेँ। कसैले कसैको मतलव गर्ने बेला थिएन त्यो बेला। मलाई सानो देखेर धेरैले उत्साहित पारे।

अब बाँकी थियो 'हिलारी स्टेप।' धेरै जोखिमयुक्त ठाउँ। चढ्दाचढ्दै माथिबाट हिउँका डल्लाले कसैले हिर्कायो। ढाँट बेस्सरी दुख्यो। म कराएँ। ती डल्लाहरू माथिबाट मानिसले टेकेको ठाउँबाट झर्दोरहेछ। खुट्टा जति माथि लान खोज्यो त्यति तल झर्थ्यो। माथि चढ्न धौधौ भो। बाबा मेरो पछाडि हुनुहुन्थ्यो। मैले नसकेपछि बाबाले 'नसके फर्किउँ' भन्नुभयो। मैले 'शिखर नपुगी नफर्किउँ' भने। जोडतोडको प्रयासपछि हामी शानिबार जेठ ६ गते दिउँसो १२ : ३० बजे चुचुरोमा पुग्यौं। उडाउला झै गरी हावा चलिरहेको थियो। तैपनि निकै खुसी थिएँ। एकले अर्कालाई बधाई दिइरहे। मैले नेपालको झन्डा चुचुरोमा गाडेँ। बाबासँगै फोटो खिचाएँ। सगरमाथाको चुचुरोमा पुगेको प्रमाण केही लानुपर्ने होला भन्ने सोचेँ। तर फोटो मात्रैमा चित्ता बुझाउनु पर्ने रहेछ। त्यहाँ राखिएको तिब्बती धजाहरू ब्याक्ग्राउन्डमा आउनेगरी फोटो खिचेपछि प्रमाण पुग्यो। चारैतिर हिमालैहिमाल देखेँ। बादल भन्दा माथि पुगे झै लाग्यो। चुचुरोमा आधा घन्टा बित्यो। आमा, दाजुभाइलाई सम्झेँ। फोनको सुविधा नहुने रहेछ। वकिटकीमा धेरैबेर कुरा गर्ने कुरै भएन। बाबाले आमालाई खबर पुर्‍याउनुभयो। अनि हामी ओर्लन थाल्यौ। ओर्लन पनि अप्ठेरो नै हुने रहे। छैठौ दिन हामी बेसक्याम्प आइपुग्यो। एकहप्ता भरिमा चार मानिस सगरमाथामै मरेछन्। त्यतिबेला सोचे, 'धन्न बचेछु।'


एसएलसीको रिजल्ट कुरिरहेकी छु। सोलुखुम्बु, गुदेल-४, सानाम गाउँमा जन्मे पनि काठामाडौंस्थित चबहिलको लुम्बिनी एकेडेमीबाट यसैपाला परीक्षा दिएक  हुँ। बाआमाको माया र साथ पाएर १६ वर्षमै सगरमाथा चढ्न पाएकोमा खुसी छु। संसारकै कान्छी आरोहीको रेकर्ड राख्न चढेकी हुँ। यसको लागि बाबाले पहल गर्दै हुनुहुन्छ। हेरौं के हुने हो। पर्यटन क्षेत्रमै लाग्ने र पढाईलाई पनि निरन्तरता दिने योजना छ। लक्ष्य डाक्टर बन्ने हो।

(१६ वर्षे हिमाल आरोही शेर्पासँग नेत्र तामाङले गरेको कुराकानीमा आधारित)
श्रोत :  नागरिक दैनिक पत्रिका
http://www.nagariknews.com/saturday/41584-2012-06-02-10-42-02.html


 

More Travel News